New Muslims APP

हिजाब अरु पहिरन भन्दा राम्रो पहिरन हो

हिजाब

अरु पहिरन भन्दा हिजाब(बुर्का) नै राम्रो लाग्छ

 पहिरन मध्ये उत्तर पहिरन हो हिजाब। किन हिजाब अरु पहिरन भन्दा राम्रो हो भन्ने बारे धेरैलाई यस बारेमा जानकारी छैन। हिजाब किन राम्रो र उत्तम छ भन्ने बारेमा जान्नको लागि सीमा खानको अनुभव के छ त संक्षेपमा अध्यायन गर्नुहोस् ।

सीमा खान मुस्लिम महिला कल्याण समाज अध्यक्ष हुन् । खान देश–विदेश हिजाब लगाएरै हिंड्छिन् । उनको बुर्का अनुभवबारे रातोपाटीकर्मी फातिमा बानुले गरेको कुराकानी ।

मेरो बालपन हैदरावादमा बितेको हो । हामी सपरिवार उतै थियौं । म स्कुल जाने उमेरकी भएँ । स्कुल आउँदा–जाँदा म देख्थें, महिलाहरू पूरै शरीर ढाकिने कालो लुगा लगाएर बाटो हिँडिरहेका हुन्थे । उनीहरूका अनुहार पनि देख्दैनथें । त्यस्तो के हो, किन हो मैले बुझ्दिनथें । स्कुलबाट हामीलाई लिन घरसम्मै रिक्सा आउँथ्यो । हामी रिक्सामा चढेपछि रिक्सावालाले चारैतिर पर्दा लगाइदिन्थ्यो । हामीलाई पर्दा उघारेर बाहिर हेर्न दिइँदैनथ्यो। बच्चाको चञ्चले मन हो, पर्दाबाहिरको दुनियाँ कस्तो होला भन्ने कौतूहल लागिरहन्थ्यो । रिक्सावालाले थाहा नपाउने गरी हामी पर्दाबाट बाहिर चिहाएर हेर्थ्यौ । थाहा पाएको दिन रिक्सावालाले किन बाहिर हेरेको ? केटी मान्छे भएर बाहिर हेर्नु हुँदैन भनेर हप्काउँथे । हामीले नटेरेको दिन घरमा गएर भनिदिन्थे ती रिक्सावाले । अनि खाइन्थ्यो नराम्ररी बुवाको गाली । हाम्रो स्कुलमा इस्लामिक स्तरकै पढाइ हुन्थ्यो । मैले स्कुलबाटै थाहा पाएँ । केटीहरूले बुर्का हिजाब लगाएर मात्र बाहिर हिँड्नुपर्छ ।

हैदरावादमा मुस्लिमको छुट्टै समुदाय थियो । महिलालाई कडा नियममा बाँधेर राखिन्थ्यो । हिजाब बिना कोही पनि महिला बाहिर निस्कँदैनथे । सबैले इस्लामिक हिसाबले जीवनयापन गर्नुपर्ने हुन्थ्यो । केटाकेटीको शैक्षिक थलो एउटै हुँदैनथ्यो । म कन्या स्कुलमा पढ्थेँ । त्यहाँ पढाउने महिला नै हुन्थे । स्कुलभित्र पुगेपछि भने नियम कडा हुन्थेन । स्कुलमा हिजाब अनिवार्य थिएन । घरको नियम कडा हुनेले हिजाब(बुर्का) लगाएर आएका हुन्थें । ठूला कक्षाका दिदीहरूले बुर्का नै लगाएका हुन्थे । हामीलाई गणित पढाउनेचाहिं पुरुष शिक्षक थिए । उहाँको कक्षामा हामीले सलको सप्कोले टाउको छोप्थ्यौं । त्यहाँ छोरीलाई घरबाहिर एक्लै जान छुट थिएन । घरबाट सिधा स्कुल अनि स्कुलबाट सिधा घर गर्नु नै हाम्रो दिनचर्या हुन्थ्यो । साथीहरूसँग बाहिर घुम्ने चलन थिएन । घरबाहिर जानुपरेमा घरका पुरुष सदस्य साथी लिएर मात्रै जान पाइन्थ्यो ।

हैदरावाद धार्मिक हिसाबभन्दा सामाजिक हिसाबले बढी चल्थ्यो । एउटा अचम्मको प्रतिस्पर्धा थियो । जुन घरको छोरीले कडा नियममा आफूलाई बाँध्छे त्यो घरलाई बढी सम्मानसाथ हेरिन्थ्यो । सामाजिक प्रतिष्ठा बढ्थ्यो । छोरीलाई बुर्का नलगाइदिए समाजभरी नानाथरीका कुरा काट्थे । समाजको डरका कारण बुवाआमाले छोरीलाई कर गरेर हिजाब या बुर्का लगाइदिन्थे । विशेषगरी महिनावारी भइसकेकी महिलाले अनिवार्य बुर्का लगाउनुपर्थ्यो । घरको चौखटभित्र रहुन्जेलसम्म भने बुर्का लगाउनुपर्दैनथ्यो । जसरी बस्दा पनि हुन्थ्यो । मैले पछि मात्र बुझेकी हुँ– इस्लाममा बुवा र दाजुभाइका अगाडि बुर्का लगाउनु पर्दैन ।

म नौ कक्षामा पढ्थें । हामी नेपाल फर्किने भयौं । स-परिवार नेपाल आयौं । हैदरावादमा बसुन्जेल मैले हिजाब (बुर्का) लगाइन । इस्लामिक कुरामा मेरो बुवा असाध्यै कडा हुनुहुन्थ्यो । छोरीका लागि नेपालको खुला वातावरण बुवालाई मन परेन । म पढ्न चाहन्थें तर मलाई स्कुल जान दिनु भएन । अनेक बिन्ती गरे पनि बुवा मान्नु भएन । दाइहरू भने स्कुल जान्थे, म घरमै बस्थें । छोरीलाई स्कुल होइन सम्पन्न घर हेरेर बिहे गरी पठाइदिनुपर्छ भन्ने बुवाको सोच थियो । म ठूली हुँदै गएं । मेरा लागि नियम बढ्दै गए । घरबाहिर निस्कने अनुमति थिएन । घरको झ्यालबाट बाहिर चिहाउन समेत बन्देज थियो । घरमा फोन थियो तर मलाई फोन उठाउन दिन्थेनन् । कोही आयो भने ढोका खोल्न पनि पाइँदैनथ्यो । कथमकदाचित कहिले बुवाको इच्छा विपरीत काम भयो भने बुवा धेरै रिसाउनुहुन्थ्यो ।

२०४९ मा मेरो विवाह भयो । श्रीमानको सल्लाह मुताबिक पढाइलाई निरन्तरता दिन मैले प्राइभेट एस.एल.सी. दिए । हामी घरबाहिर हिँड्दा महिलाले बुर्का लगाएर हिंड्थ्यौ ।

घरमा भने ससुरा, जेठाजु, देवरका अगाडि म टाउकोमा सल बेर्थें, कपाल छोप्थेँ । नयाँ–नयाँ बुहारीलाई कपाल छोपेर बस्नु पर्छ । हिजाब(बुर्का) सिष्टम ठाउँ अनुसार फरक पर्छ । त्यतिखेर काठमाडौँका मुस्लिम महिलाहरुले घर बाहिर हिंड्दा हिजाब(बुर्का)मा हिंड्ने गर्दथे । घर परिवार भित्र भने कसैले लगाउनु पर्दैनथ्यो ।

कहिलेकाहीँ हिजाब(बुर्का) लगाएर हिँड्दा बाटोमा मानिस अचम्म पर्थे । आँखा चौडा पारीपारी हेरिरहन्थे । कोही त अगाडि नै भनिदिन्थे, अबुई के लगाएर हिँडेको होला । त्यतिखेरका मानिसमा हिजाब(बुर्का) सम्बन्धी जानकारी थिएन, ज्ञान थिएन । जानकारी हुने माध्यम पनि थिएन । काठमाडौँमा हिजाब(बुर्का) लगाएर हिँडनु भनेको अचम्मको पोको बोकेर हिँडनुझैँ हुन्थ्यो । आफ्नै संगतका मानिसले पनि हिजाब(बुर्का)बारे बुझेका हुन्थेनन् ।

हिजाब(बुर्का) लगाएको दिन उनीहरू भन्थे, ‘विचरा तिमीमाथि कति अन्याय भइरहेको छ ।’ कोही सोध्थे, ‘आफूलाई ढाक्नै पर्ने, कालो नै लगाउनु पर्ने ?’ बुर्का लगाएर हिँड्नुको चिन्ता हुन्थेन । बुर्का लगाएपछि हामीमाथि तेर्सिने प्रश्नले दिक्क बनाउँथे । आज पनि अनेक प्रश्न सोध्छन्, हामीलाई सहानुभूतिको नजरले हेर्छन् । कोही भन्छन्, ‘जेठको गर्मीमा पनि कालो न कालो लुगाले पोल्दैन ?’ उनीहरूलाई थाहा नहोला, कालो रङमा पनि शीतल दिने कपडा पाइन्छन् । म त्यस्तैखालको जवाफ दिएर हिँड्छु ।

०६२–६३ को जनआन्दोलपछि मैले संस्था स्थापना गरें– मुस्लिम महिला कल्याण समाज । भर्खर–भर्खर काम सुरु भएको थियो । एउटा कार्यक्रमबाट मलाई निमन्त्रणा आयो । संविधानमा मुस्लिमका मुद्दा समेट्ने विषयक कार्यक्रम थियो । म त्यहाँ पुग्दा सबै महिला हिजाब(बुर्का) लगाएर आएका थिए । त्यहाँ देशका ठुल्ठूला मौलाना (धार्मिक गुरु) को पनि उपस्थिति थियो । कार्यक्रम त्यति भव्य होला भनेर मलाई त थाहा पनि थिएन ।

मेरो बोल्ने पालो आयो । मैले मुस्लिमहरुको हक हितको बारेमा संविधानमा राख्नु पर्ने मागको बारेमा स्पष्ट धारणा राखे साथै तलाक(सम्बन्ध बिच्छेद) सम्बन्धि विषयमा पनि केही तर्क पेश गरें । कार्यक्रम सकिएपछि म त्यहाँबाट हिँडिहाले । त्यसपछि त प्रायः हरेक संस्थाको निमन्त्रणा आउने क्रम जारी रह्यो, म संस्थाको प्रतिनिधी भएर धार्मिक कार्यक्रममा जानुपथ्र्यो । धेरै विद्वान मौलानाहरुसँग चिनजान भेटघाट हुन थाल्यो । नजरुल हुसैन, अलाउद्दिन, फैजान अहमद जस्ता देशका ठूला मौलानासँग भेटघाट भई रहन्थ्यो । सामान्यदेखि ठुल्ठूला कार्यक्रममा पनि बुर्का लगाएर जान्थे । आज पनि म त्यही अभ्यासमा छु । देश-विदेश घुम्छु । हिजाब(बुर्का) मै हुन्छु । अरू पहिरन भन्दा मलाई हिजाब(बुर्का) नै राम्रो लाग्छ । सजिलो लाग्छ । अनुहार चाहिं छोप्दिन ।

साधारणतया नेपालमा हिजाब(बुर्का) लाई महिलाको बाधकका रूपमा हेरिन्छ । हिजाब(बुर्का)ले नै नेपाली महिलालाई पछाडि पारेको हो भनेर पनि व्याख्या गरिरहेको सुनिन्छ । हिजाब(बुर्का)मा लुकाएर महिलालाई उसको अधिकारबाट वंञ्चित गराउन खोजिएको हो भन्छन् । यो गलत हो । हिजाब(बुर्का)मा लुकाएर महिलालाई उसको अधिकारबाट वञ्चित गराउन खोजिएको हो भन्छन् । कोही भन्छन्, ‘बुर्काले महिलाको स्वतन्त्रतामा प्रतिबन्ध  गरेको छ । बुर्काप्रति समाजको दृष्टिकोण मैले नियाली रहेकी छु । मुस्लिम समुदायलाई छोडेर हेर्ने हो भने ८० प्रतिशत मानिस उही सोचले ग्रसित छन् । विशेषगरी गैरमुस्लिम महिलाबाट यस्ता प्रश्न आउँछन् । सायद इस्लाम सम्बन्धी ज्ञान कमीले होला । सबैका धारणा उस्तै छैनन् । समाजमा यस्ता बुद्धिजीवि पनि छन्, जसले बुर्कालाई राम्ररी बुझेका छन् । जसले इस्लाम धर्मबारे अध्ययन गरेका छन् तिनीहरूले बुर्का के हो किन हो बुझेका छन् । गलत भनेका छैनन् । त्यस्ता मानिसले ममाथि प्रश्न उठाउने भन्दा पनि अझै बढी सम्मानजनक व्यवहार गर्छन् । जुन तहका मानिससँग म उठबस गर्छु, ती सबैले बुर्काबारे राम्ररी बुझेका छन् । मसँग प्रश्न गरेर उनीहरू प्रस्ट भइसकेका छन् । हिजोआज उनीहरू मसँग बुर्काबारे बहस गर्दैनन् ।

मेरो व्यक्तिगत धारणाको कुरा गर्ने हो भने बुर्का महिलाको बाधक कुनै पनि कोणबाट होइन । बुर्का भनेको एउटा धार्मिक पहिरन मात्रै हो । यसले महिलाको शरीर ढाक्छ । उसलाई आत्मविश्वास दिन्छ । आफू सुरक्षित छु भन्ने विश्वास दिलाउँछ । बुर्का महिला घरबाहिर निस्कने विकल्पमात्रै हो । इस्लाममा महिलालाई बुर्का लगाऊ भनेको छ तर बुर्का लगाउँदैमा उसलाई अरू अधिकारबाट वञ्चित गरिएको छैन । शिक्षा प्राप्त गर्न, रोकिएको छैन । काम गरेर आफ्नो खुट्टामा आफैँ उभिन रोक लगाइएको छैन । यदि कसैले मुस्लिम महिलालाई पर्दाको नाममा घरभित्रै थुन्छन् भने त्यो बुर्काको गलत व्याख्या हो । फेरि कुरानमा महिलाले बुर्का नै लगाउनुपर्छ, त्यो कालो रङको नै हुनुपर्छ भनेर पनि कतै लेखिएको छैन । फिलिपिन्स र मलेसियाका मुस्लिम सेतो रङका बुर्का लगाउँछन् ।

खुकुलो लुगा लगाऊ । शिरदेखि पाउसम्म आफूलाई छोप । आफूलाई पुरुषको आकर्षणको केन्द्र नबनाऊमात्र भनिएको छ । बुर्का लगाएर घरमै लुक्नुपर्छ त कतै पनि भनिएको छैन ।

त्यस्तै एकपटक म हज गर्न मक्का पुगेकी थिएँ । श्रीमान् बिरामी थिए । म औषधि लिन मेडिकल खोज्न थालेँ । म पुगेको मेडिकलमा आँखासमेत छोपेर बसेकी महिला थिइन् । डाक्टर रहिछिन् । मैले सोधिहालेँ, ‘कहाँ पढ्नु भएको नि ?’ जवाफ दिइन्, ‘इन्डिया गएर पढेकी ।’ फेरि सोधेँ, ‘बुर्का नै लगाएर ?’ ‘अँ बुर्कै लगाएर हुर्किएँ, पढे र काम पनि गर्दै छु ।’

बुर्का लगाउने महिलाले शरीर त छोपे, अनुहार पनि कि छोपेका होलान् भनेर हामीलाई प्रश्न गर्ने गरिन्छ । एउटा उदाहरण दिन्छु– केही वर्षअगाडि म हैदरावाद पुगेकी थिएँ । त्यहाँ आजात मुस्लिम युनिभर्सिटीमा मेरो प्रस्तुति थियो । युनिभर्सिटीभित्र सबै महिलाले बुर्का लगाएका थिए । आँखा मात्रै टिलपिल, टिलपिल भएका थिए । त्यो वातावरण देख्दा मैले सोचेँ, यति ठूलो युनिभर्सिटीमा त महिला बुर्का लगाएर आउँछन्, कति पछाडि रहेछन् मुस्लिम महिला । देख्दा उच्च शिक्षा प्राप्त गरेका ती महिला अझै पनि परम्परावादी सोचले ग्रसित रहेछन् झैं मलाई लाग्यो । पछि मैले थाहा पाएँ ती महिला सबै पीएचडी डाक्टर रहेछन् । उनीहरूको प्रस्तुति पनि उस्तै थियो । गज्जबको । म आश्चर्यमा परेँ । बुर्काले अशिक्षा झल्काउँदैन ।

नेपालमा महिला अधिकारको क्षेत्रमा बुर्कालाई नकारात्मक हिसाबले बुझिन्छ । बुर्का लगाएका महिलालाई परम्परावादी र अविकसित भनेर उपमा दिइन्छ । पिछडिएका भनिन्छ । अझै पनि घुम्टोमै सीमित छन्, कहिले अगाडि बढ्लान् भनेर आलोचना गर्छन् । यी सबै सोच भ्रममात्रै हुन् । जसले बुर्काको अर्थ राम्ररी बुझेका छन्, तिनीहरूले महिलालाई घरका चार भित्तामा सीमित राख्दैनन् । त्यस्ता परिवारका महिला शिक्षित छन् । देश विकास र सामाजिक उत्थानका लागि सक्रियसाथ लागेका छन् ।

स्रोतः http://www.ratopati.com/photo-news/52088/

Related Post