Main Menu
New Muslims APP
أكاديمية سبيلي Sabeeli Academy

के हाम्रो जीवन उद्देश्य विहीन छ ?

हाम्रो जीवन किन र के का लागि ?

हामी के चाहन्छौ ? स्वर्गको आनन्द या नर्कको यातना ? एक छिन् विचार गरौं ?

शुरु गर्दछु परम् दयालु तथा अत्यन्त कृपाशील अल्लाहको नामबाट

               जब हामी यस संसार माथि विचार गर्छौ र चारै तिर हेर्छौ भने हामी यसमा विभिन्न किसिमका कुरा तथा वस्तुहरू फैलिएका देख्र्छौ । हाम्रो सामुन्ने यस संसारका प्राकृतिक तथा अप्राकृतिक वस्तुहरू छन् । यसको उद्देश्य र महत्वमाथि विचार गर्दा हामीलाई थाहा हुन्छ।  यिनीहरू मध्ये कुनै पनि चिज बिना मतलब तथा उद्देश्यहिन छैन । थरी–थरीका बोट बिरुवा जीव जन्तु, चरा चुङ्गी, किरा फटेंग्रा अनि मानवजाति छन् । एकातिर अग्ला अग्ला पहाडहरू छन् भने अर्को तिर समथल भूमी तथा नदी नालाहरू छन् ।

                जमीन मुनि विभिन्न प्रकारका खनिजहरू, ग्यास तथा पेट्रोलियम पदार्थहरू छन् । आकाशमा सुर्य, चन्द्रमा तथा ताराहरू छन् । यी मध्ये हरेकले कुनै न कुनै उद्देश्य पूर्तिे गरिरहेको देख्छौं । त्यो उद्देश्य के हो र कसरी पूरा गरिरहेका छन् ?  क्षणिक विचारपछि यी सबै मानिसहरूको सेवामा रहि रहेका छन् भन्ने निस्कर्षमा हामी पुग्छौं । साथै हामी यीनलाई सृष्टिकर्ताको आदेशानुसार र त्यही उद्देश्य पूरा गरिरहेका हेर्छौं जसको लागि यीनलाई उनले सृष्टि गरेका छन् । कुनै पनि चिजले आफ्नो उद्देश्य विपरित काम गर्दैन । आगो, हावा, पानी सबैले त्यही गर्छन् जसको आदेश उनीहरूलाई दिइएको छ। यस कुराको पुष्टि विज्ञानले पनि गर्छ र यही संदेश हरेक युगमा आएका सन्देष्टाहरू, धार्मिक अगुवाहरू तथा सम्पूर्ण ज्ञानी व्यक्तिहरूले दिएका छन्। यो मात्र होइन हरेक साधारण व्यक्तिसंग प्रश्न गर्दा यसको उत्तरमा अलिकति पनि फरक हुने छैन। यस भन्दा अलि अगाडि बढौं र विचार गरौं,  के हामी यी कुराहरुबाट अलग्गिएर यस संसारमा बाकीँ रहन सक्छौं ? कदापि सक्दैनौं ।

                 तसर्थ यसबाट यस संसार र यसका हरेक कुराहरू हामी मानवको लागि सृष्टि गरिएको हो र हामी यसलाई उपभोग गररिाखेका छौं भन्ने कुरा स्पष्ट हुन्छ। कुरआनमा स्पष्ट शब्दमा भनिएको छ: “उनी (अल्लाह) ले नै धर्तिका हरेक चीज तिमिहरूको लागि सृष्टि गरेका हुन् ।” (सुरह २/२९)

माथि उल्लेखित कुराहरूबाट स्वतः एउटा प्रश्न उठ्छ: “के हाम्रो जीवनको पनि कुनै उद्देश्य छ ? ”छोटो चिन्तनमनन् पछि हामी यस निस्कर्षमा पुग्दछौं,  अवश्यै हाम्रो यस जीवनको पनि कुनै न कुनै उद्देश्य हुनुपर्छ र हामीले त्यस उद्देश्यको पूर्ति गर्नु अनिवार्य छ । अझ यी प्रश्नहरू  हामी को हौं ? कहाँबाट आयौं ?  कसरी आयौं ? र कहाँ जाने छौं ? हामीलाई कसले पठाएको हो ? र किन पठाएको हो ? यी प्रश्नहरूमाथि विचार गर्दा हामीले गम्भिर हुनु जरुरी छ र यी प्रश्नहरूका जवाफ खोज्न पनि आवश्यक छ ।

                आउनुहोस् हामी माथि उल्लेखित प्रश्नहरूको जवाफ खोज्ने प्रयास गरौं । यसबाट स्पष्ट हुनेछ हाम्रो जीवनको वास्तविक उद्देश्य के हो । हामी को हौं ? यसको जवाफ स्पष्ट छ हामी सृष्टिहरु मध्ये कै एक प्राणी हौं र सर्वश्रेष्ठ प्राणी हौं । किन भने हामीलाई बुद्धि प्रदान गरेर अन्य सृष्टिहरूमाथि प्रभुत्व प्रदान गरिएको छ। बुद्धिका साथै हामीलाई केही अधिकारका साथ जिम्मेवारी पनि दिइएको छ जसलाई बहन गर्नु हामीले जरुरी छ । जहाँसम्म हामी कहाँवाट आयौं र कहाँ जाने छौं ? प्रश्न छ यसको जवाफ पनि स्पष्ट नै छ। हामी सृष्टि हौ यसबाट स्पष्ट हुन्छ कि हाम्रो अस्तित्व थिएन हामीलाई अस्तित्व प्रदान गरिएको छ अर्थात हाम्रो सृष्टिकर्ता छन् जसले हामीलाई सृष्टि गरेर जीवन प्रदान गरेका छन्। हाम्रो अस्तित्व थिएन भन्नुको यो पनि अर्थ हो, हामी मृत अवस्थामा थियौं र हामीलाई अस्तित्वमा ल्याएपछि जीवन प्रदान गरिएको हो। यसबाट यो पनि स्पष्ट हुन्छ कि हामीले एक दिन फेरि मर्नु छ। यो यस्तो स्वंय सिद्ध वास्तविकता हो जसको लागि कुनै प्रमाणको आवश्यक्ता नै छैन।  किनभने प्रत्येक दिन मानिसको मृत्यु भइरहेको हामी हेर्छौं। यसबाट यो पनि सिद्ध भयो,  हामी मरे पछि सदाको लागि सखाप वा नष्ट हुने छैनौ र हाम्रो पूनःजीवन असम्भव छैन। किनभने एक पटक अस्तित्वमा आए पछि पूनः अस्तित्वमा आउन कसरी असम्भव हुनसक्छ होला। जहाँसम्म सृष्टिकर्ता को छन् ? भन्ने प्रश्न छ यसको लागि मानिसहरूले आफ्नै विवेकद्वारा उनको वास्तविकताको पत्ता लगाउन वा ज्ञान प्राप्त गर्न सक्दैनन्।

                     यसको लागि सृष्टिकर्ता कै तर्फबाट कुनै श्रोत, माध्यम वा ग्रन्थ छ छैन भन्ने बारे जान्नु जरुरी छ।  तापनि यस संसारमा कुन यस्तो मानिस छ जसले कुनै आपद वा कठिन समयमा आफ्नो सृष्टिकर्ताको आश्रय खोज्दैन तथा आफ्नो पालनकर्तालाई स्मरण गर्दैन र उसँग सहायता माग्दैन । यो कुरा पनि सर्व विदितै छ। सृष्टिकर्ताले हरेक युगमा आफ्ना सन्देष्टा तथा दूतहरू पठाउँदै आएका छन् र ग्रन्थहरू अवतरित गर्दै आएका छन जस मध्ये महामनु (आदम) अ. नुह अ. इद्रीस अ. इब्राहीम अ. मूसा अ. र इसा अ. हरू हुन् । ग्रन्थहरू मध्ये इब्राहीम अ. माथि अवतरित ग्रन्थ सहीफाहरू र मूसा र ईसा अ. माथि अवतरित क्रमशः तौरात तथा इन्जील छन् । केही विद्वानहरूको अनुसार वेद पनि ईशग्रन्थ हो । तर यी सबै ईशग्रन्थहरूको मूल पाठ कि त लुप्त भयो वा त्यसमा अनुयायीहरूले मिसावट तथा फेरबदल गरिदिए। सन्देष्टाहरू तथा ग्रन्थहरूको क्रममा अन्तिम सदेष्टा हजरत मुहम्मद स. हुन् र उनीमाथि अवतरित ग्रन्थ कुरआन मजीद हो जुन हरेक मिसावट तथा फेरबदलबाट पूर्ण रुपमा सुरक्षित छ। यसको यथार्थ बुझ्नको लागि कुरआन मजीदको अध्यायन अनिवार्य छ।

              तसर्थ हामीले कुरआनबाट केहि उल्लेखहरू पेश गर्नु अपरिहार्य नै होला। किनभने कुनै पनि वस्तुलाई न देखि र त्यसलाई नजानि कन त्यसको वास्तविकता पत्ता लगाउन सकिंदैन । सूरह वाकिआको आयत ५७ देखि ६२ सम्ममा मानव सृष्टि मृत्यु तथा पुनःजन्मबारे भन्दछन्। हामीले नै तिमीहरूलाई सृष्टि गयौं फेरि तिमीहरू किन सत्य मान्दैनौ ? के तिमीहरूले विचार गयौं जुन वीर्यका थोपा, तिमीहरू चुहाउँछौ त्यसलाई तिमीहरू आकार दिन्छौ वा त्यसलाई आकार दिने हामी हौं ?  हामीले नै तिमीहरूबीच मृत्युलाई निर्धारित गरिदिएका छौं र तिमीहरूको स्थानमा तिमीहरू जस्तै अरूलाई सृष्टि गरिदिन र फेरि तिमीहरूलाई एउटा अर्को सृष्टिमा परिणत गरिदिनमा जसलाई तिमीहरू जान्दैनौ हामी विवश छैनौं । तिमीहरू आफ्नो पहिलो सृष्टिलाई त जानी रहेकै छौ, फेरि तिमीहरू किन उपदेश ग्रहण गर्दैनौ ?

                हाम्रो सृष्टिकर्ताको परिचयको लागि कुरआनमा कयौं स्थानहरूमा स्पष्ट शब्दहरूमा उल्लेख छ। म यहाँ दुईवटा मात्र प्रमाण पेश गर्न चाहन्छु । कुरआनको दोस्रो सुरह (बकरह) को आयात २५५ मा उल्लेख छ: “ अल्लाह उनी बाहेक कोही उपास्य छैन, जीवन्त एवं चिरस्थायी छन् । उनलाई निन्द्रा पनि लाग्दैन। आकाश तथा पृथ्वीका सबै वस्तुहरू उनकै अधिनस्त हुन् । को छ जसले उनको अनुमति बिना सिफारिस गर्न सकोस् । उनी तिनीहरूका अगाडि र पछाडिका सबै कुरा राम्ररी जान्दछन् र उनीहरू अल्लाहले चाहे बाहेक अरू कुनै चिज आफ्नो ज्ञानको परिधिमा ल्याउन सक्दैनन् । उनको कुर्सी (सिंहासन) आकाश तथा धर्तिसम्म फैलिएको छ । तिनीहरूको संरक्षणले उनलाई कत्ति पनि थकित तुल्याउँदैनन् । उनी सर्वोच्च तथा महान छन्।” यसै गरी कुरआनको सुरह इख्लास (११२) मा उल्लेख छ: “भनिदेऊ,  उनी अल्लाह एउटै छन् । उनी अल समद (आत्मा निर्भर) छन् । उनको कोही सन्तान छैन, न उनी कसैका सन्तान हुन्। न उनको कोही समकक्ष नै छ।” यो हाम्रो सृष्टिकर्ताको साक्षिंप्त परिचय हो। छोटकरीमा यो भन्न सकिंन्छ कि उनी नै यस जगतका सृष्टिकर्ता पालनकर्ता तथा मालिक हुन् र यसमा उनको कोही साझेदार छैन।

                अब हामी अगाडि बढौं र यो जान्ने प्रयास गरौं,  हाम्रो सृष्टिकर्ताले हामीलाई कुनै उद्देश्यको पूर्तिका लागि सृष्टि गरेका छन् वा हाम्रो जीवन उद्देश्य विहिन छ ?  यो जान्नको लागि पनि कुरआन पढ्दा हामी स्पष्ट शब्दमा पाउँछौं कि हामीलाई सृष्टि गर्नुको उद्देश्य हाम्रो सृष्टिकर्ताको भक्ति तथा उपासना हो। सुरह जारियात (५१) को आयत ५६ मा स्पष्ट शब्दमा भनिएको छ । “मैले मानव तथा जिन्नलाई मात्र आफ्नो भक्तिको उद्देश्यले सृष्टि गरेका छु।”यसैलाई सुरह बकरहको आयत २१ र २२ मा हाम्रो सृष्टिकर्ताले आदेश दिंदै भनेका छन्। “हे मानव तिमीहरू आफ्नो उनै सृष्टिकर्ताको उपासना गर जसले तिमीहरूलाई र तिमीहरूभन्दा अघिका मानिसहरूलाई पनि सृष्टि गरेका छन् ताकि तिमीहरू नर्कको आगोबाट बच्न सक” जसले तिमीहरूका लागि धर्तिलाई ओछ्यान र आकासलाई छाना बनाए तथा आकाशबाट पानी बर्साए अनि त्यसबाट उनले तिमीहरूको जीविका स्वरुप फलफूलहरू उत्पन्न गरे । तसर्थ तिमीहरू जानी–जानी अल्लाहसंग अरु कसैलाई साझेदार न बनाउ। कुरआनमा यस्ता कैयौं आयतहरू छन् जसले मानवको जीवनको उद्देश्यमाथि प्रकाश पार्दछ । बिस्तारमा नगई म यी नै प्रमाणहरूका साथ तपाईँहरूलाई हाम्रो जीवनको उद्देश्यमाथि चिन्तन मनन् गर्न र त्यसको लागि आवश्यक कदम चाल्न आव्हान गर्दछु ।

                आशा छ: हामी आफ्नो जीवनको उद्देश्य पूरा गर्न तत्पर हुनेछौं किन भने यही नै हाम्रो सफलता अर्थात स्वर्गमा जाने बाटो पनि हो । र यसो नगरेमा कसैले हामीलाई नरकबाट बचाउन सक्दैन । के हामी नरकमा यातना सहन आफुभित्र साहस पाउँछौं यदि चाहंदैनौ भने हामी आजैदेखि स्वर्गको बाटो अर्थात एक सत्य ईश्वरको भक्ति गर्न तयार हुनुहुनेछ भन्ने विश्वास गर्दछु।

      तपाईको शुभ चिन्तक

      जुल्फकार अली फलाही

       Email: [email protected]

Related Post