सबै रसूलहरु (Prophets) ले देखाएको मार्ग एउटै हो। सबै रसूल तथा नबीले एकेश्वरवादको सन्देश दिन्थे । अल्लाहले यस धर्तिमा मानव जाति मध्येबाट असल चरित्र भएका व्यक्तिलाई ईश-दूत छनौट गर्नु हुन्थ्यो । उनीहरुमा ईश्वरिय शक्ति हुँदैनथ्यो, तिनीहरु सामान्य मानव जस्तै हुन्थे । तिनै नबी तथा रसूलले सिकाएको तरिका अनुसार अल्लाहको भक्ति गर्नु नै मुक्ति मिल्नेछ । सृष्टिकर्ताले सृष्टि गरिएको चीजको उपासना गर्ने होइन र मानव निर्मित चिज (मूर्ति र फोटो) लाई उपासना गर्ने होइन । जब बच्चा जन्मिन्छ उ ईश्वरिय आदेश र नियमानुसार जन्मिएको हुन्छ साथै उसले त्यही नियमको पालना गरेको हुन्छ जुन ईश्वरबाट निर्देशित हुन्छ । पछि उसका आमा बुबाले जुन धर्म मानेको हुन्छ त्यही सिक्दै जान्छ र त्यही धर्मको पालन गर्ने हुन्छ । यस सम्बन्धमा हदिसमा नबी सल्ल.ले भन्नुभयोः “हरेक जन्मलिने बच्चा आफ्नो प्राकृतिक ईश्वरिय धर्ममा जन्मिन्छ, फेरी उसको आमा बुबाले उसलाई, यहुदी, नसरानी या माजुसी (ग्रह तथा नक्षत्रको पूजा गर्ने व्यक्ति भनिन्छ) बनाउँछन्।” (बुखारी र मुस्लिम)
पहिलो मानव आदम अलै. नै संसारका पहिलो नबी थिए भने पहिलो रसूल नूह अलैस्सलाम थिए । आदम अलै. र नूह अलै. को बीच दश पुस्ता बितेको थियो । जब शैतानको बहकाउमा लागेर आदम अलैहिस्सलामले जन्नतको रुखको फल खान गए । त्यसपछि अल्लाहले आदम अलै. लाई धर्तिमा पठाए । आदम अलै.ले आफ्ना सन्तानलाई सम्झाउनु भयो । जसरी मलाई शैतानले बहकायो तिमीहरु त्यसरी नबहकिनु । आदम अलै. का सन्तानले पनि एक अल्लाहको उपासना गरिरहे । जब दशौं पुस्तामा पुग्दा धर्तिमा मानवले एक ईश्वरको पूजा भुल्न थाले र बहुदेववादी बने । तब अल्लाहले मानवलाई सिधा मार्ग अपनाउन भनेर नूह अलै. लाई रसूल चुन्नु भयो ।
अर्को हदीसमा यस सम्बन्धमा भनेको छः “हजरत इब्ने अब्बास रजि. भन्नु हुन्छ कि हजरत नूह अलैहि र हज़रत आदम अलैहि. को बीच दस पुस्ता बितेको थियो सबै इस्लाममा थिए।”
पहिलेका नबीलाई जस्तै गरी आखिरी रसूल मुहम्मद सल्ल. लाई पनि किताब प्रदान गरियो र पृथ्वीको केन्द्र विन्दु मक्कामा जन्मिएका एक अनाथ टुहुरो व्यक्तिलाई अल्लाहले रसूल चुन्नु भयो । उनी न त पढ्लेख गर्न सक्थे, न कुनै धनवान थिए । तर उनको आचरण पवित्र र उच्चकोटीको थियो । उनलाई अल्लाहले त्यहि शिक्षा दिएका थिए जुन पहिलेका नबी तथा रसूल माथि एकेश्वरवादको शिक्षा दिएका थिए । पवित्र कुरआनमा उल्लेख छः “हामीले तिमीमाथि त्यसरी वह्य (प्रकाशना) गरेका छौं जसरी हामीले ‘नूह’ एवं उनीपछिका सन्देष्टाहरुमाथि अवतरित गरेका थियौं । र, हामीले इब्राहीम, इस्माईल, इस्हाक़ याअकूब र उनका सन्तानहरु ईसा, अय्यूब, यूनुस, हारून र सुलैमानमाथि पनि वह्यक (प्रकाशना) अवतरण गरेका थियौं । अनि दाउदलाई हामीले ज़बूर प्रदान गरेका थियौं।” (सूरह अन् निसा, आयतः १६३)
पहिलेका रसूलले जुन एकेश्वरवाद (एक ईश्वर मान्ने) शिक्षा दिनु भएको थियो, त्यही शिक्षा आखिरी रसूल मुहम्मद (सल्ल.) ले दिनु भयो । तर मानिसले उक्त रसूलको मृत्युपछि आफ्नो स्वार्थको लागि कोही घटाए भने केही थप गरिदिए । जसले गर्दा त्यो धर्मशास्त्रलाई ईश्वरले त्यसलाई निस्कृय गरेर अर्को धर्मशास्त्र अवतरण गराउनु भयो ।
“र कतिपय रसूल (ईशदूत) हरु छन् जसको चर्चा हामीले तिमीसँग यसभन्दा पहिले नै गरिसकेका छौं र कतिपय रसूलहरु छन् जसको चर्चा हामीले तिमीसँग गरेकै छैनौं । र, मूसासँग अल्लाहले स्पष्ट रुपमा कुरा गरेका थिए।” (सूरह अल निसा, आयत १६४)
फेरी अर्को ठाउँमा भनिएको छः “र, प्रत्येक समुदायकालागि एकजना रसूल रहेका छन् । अनि जब उनीहरुकहाँ रसूल आगमन हुन्छ तब तिनीहरुबीच न्यायकासाथ निर्णय गरिन्छ । र, तिमीहरुमाथि अन्याय गरिदैन।” (यूनुस – 47)
तर केही व्यक्ति यस्ता हुन्छन् जसले अल्लाहको किताब र रसूलको उपदेशलाई वास्ता गर्दैनथे, उनीहरु उदण्डता देखाउने र गिज्याउने गर्दथे । सत्यलाई ढाकछोप गर्ने, लुकाउने हुनाले त्यस कार्यलाई कुफ्र भनिन्छ, कुफ्र कार्य गर्ने व्यक्तिलाई काफिर भनिन्छ । एक अल्लाहको उपासना नगर्नु नै कुफ्र हो । किनभने जो संसारका रचयिता, पालनकर्ता र कियामतको दिन सबैलाई उसको पाप र पुण्यको हिसाब गरी सही इन्साफ गर्ने उनै अल्लाह हुन् तर धेरैले घमण्ड र उदण्डताको कारण अल्लाहको भक्ति गर्दैनन् । हरेक समूदायमा अल्लाहले एक सचेतकर्ता चुनेका हुन्थे । जब ति व्यक्ति अल्लाहको सन्देश लिएर जान्थे तब उनीहरु किन हत्या गरि दिन्थे या उनको शिक्षालाई अस्वीकार गर्दथे । पवित्र कुरआनमा यस सम्बन्धमा यसरी भनिएको छः “र, काफिरहरु भन्छन्, यस व्यक्तिमाथि उनका पालनकर्ताको तर्फबाट कुनै निशानी किन अवतरण गरिएन ? ” तिमी केवल सचेतक हौ र प्रत्येक समूदायकोलागि एकजना मार्गदर्शक हुने गर्छ।” (सूरह अर् रअद, आयतः 7)
“ऐ पैग़म्बरहरु हो ! पवित्र चीज खाउ र सत्कर्म कर्म गर । तिमीहरु जे गर्छौ म त्यो राम्ररी जान्दछ।” (सूरह अल मुअमिनून, आयत- 51)
अल्लाहको रसूल तथा उनको शिक्षालाई अस्वीकार गरी मानवले त्यस शिक्षामा फेरबदल गरिदिए । कतै घटाए भने कतै बढाए । पवित्र कुरआनमा यस सम्बन्धमा भनिएको छः “तर तिनीहरुले आफ्नो धार्मिक मामिलालाई आपसमा छिन्नभिन्न पारे । प्रत्येक समूदायसँग जे-जति छ तिनमै त्यो मग्न रहन्छ।” (सूरह अल मुअमिनून, आयत-53)
स्रोतः पवित्र कुरआन नेपाली अनुवाद (इस्लामी संघ, नेपाल)
अनुवादकः मौलाना अलाउद्दीन अन्सारी फलाही
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


